अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टरको थमौती माग गर्दै यहाँका स्थानीय महिलाहरुले सिन्धुली अस्पताल र जिल्ला प्रशासनमा धर्ना दिएका छन । आज धर्ना दिन प्रशासन पुगेका धेरै जसो महिलाहरुले स्त्रीरोग विशेषज्ञ सुमित्रा गौतमलाई सिन्धुली अस्पतालमै राख्नुपर्ने माग गरेका थिए । निरन्तर सिन्धुली अस्पतालमा रहनु भएकी स्त्रीरोग विशेषज्ञ डाक्टर गौतम बिगत केहि दिन देखि सिन्धुलीमा नहुदा आफुहरु समस्या परेको धर्नामा भेटिएका महिलाहरुले बताए । धर्नामा सहभागी एक महिलाले भनिन-” हाम्रो लागि उहाँ भगवान हुनुहुन्छ, सारोगार्होमा हामीलाई उहाँ नै चाहिन्छ ।” अन्य डाक्टर जस्तै समायोजनले स्त्रीरोग विशेषज्ञ डाक्टर गौतम कहाँ पुग्नु हुने हो यो समाचार तयार पार्दा सम्म खुलेको छैन । तर समायोजनका कारण गौतम सङ्गै अन्य डाक्टर पनि अहिले यहाँ नहुदा सिन्धुली अस्पताल डाक्टर बिहिन अबस्थामा छ । यहाँको अस्पतालमा डाक्टर नहुदा सेवाग्राहीहरु नराम्ररी प्रभावित भएका छन । अन्य भएका डाक्टर समेत समायोजनले सिन्धुली अस्पतालमा अहिले छैनन । आजको धर्नामा कम्युनिस्ट पार्टीका नेतृहरुको पनि सहभागिता रहेकाले यसलाई अर्थपुर्ण रूपमा हेरिएको छ । यसैबीच अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रह्लाद पोखरेरले एक दुई दिन भित्रै सिन्धुली अस्पतालमा एमडिजिपि र अल्ट्रासोनिन्स्ट डाक्टर आउने प्रतिक्रिया दिएका छन ।