सरकारले बीपी राजमार्गलाई दुई लेनको बनाउने योजना अघि सारेको छ । राज्यले अपेक्षा गरेअनुसारको सुविधा दिन नसकेको निष्कर्षसहित सरकारले दुई लेनको सडक बनाउने योजना अगाडि सारेको हो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको यो सडक साँघुरो हुँदा सवारी साधन आवतजावत गर्न समेत कठिनाइ भएकाले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको बताइन्छ । नेपालकै नमुना सडक भनेर प्रचार गरिएको जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बीपी राजमार्ग निर्माण सम्पन्न भएको पाँच वर्षमै सरकारले फेरि विस्तार गर्ने काम अगाडि बढाउन लागेको हो । जापान सरकारको सहयोगमा निर्मित यो राजमार्ग सूर्यविनायक देखि धुलिखेल, धुलिखेल देखि सिन्धुली अनि सिन्धुली देखि बर्दिवास सम्म सडक आयोजनाका प्रमुख रहेका सूर्य भाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको जानकारी दिनुभएको हो । बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चियावारि–बर्दिवास सम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम यसै वर्ष अगाडि बढने जनाइएको छ । तर यसै राजमार्गमा पर्ने खुर्कोट–सिन्धुलीगढी हुँदै चियावारि सम्मको सडक भने डीपीआरमा पर्ने छैन । खुर्कोट चियाबारी सुरुङ मार्गको अध्ययन गराइने हुँदा यो एरिया दुई लेनको डीपीआरमा नहुने बुझिएको छ । अहिले खुर्कोट–चियाबारी सडक ३० किलोमिटर दूरीमा पर्छ । संचार माध्यममा आएका खबर अनुसार यदि खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भयो भने बि.पी राजमार्ग २३ किलोमिटर दूरी घट्ने बताइन्छ । उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार पनि इच्छुक देखिएको खबरहरु सार्बजनिक भएका छन । धुलिखेल देखि बर्दिवास सम्म १ सय ६० किलोमिटर बीपी राजमार्ग दुई लेनको बनाउने काम यसै वर्षबाट शुरू हुने बताइएको छ । सडक साँघुरो भएकाले हाल उक्त राजमार्गमा ठुला सवारीको दाजोमा साना सवारी साधनहरु धेरै चल्छन । बीपी राजमार्ग दुइ लेनको बनेपछि तराई बाट मालवाहक सवारी साधन पनि बीपी राजमार्ग हुँदै काठमाडौं सम्म सञ्चालन हुन सक्ने नेपाल सरकारको आशा देखिन्छ । यो राजमार्ग बन्दै गर्दा पहिल्यै दायाँबायाँ १५÷१५ मिटर जग्गा अधिग्रहण गरेर बि.पी राजमार्ग बनेको थियो । अब सडक विस्तार गर्दा जग्गाधनी जनतालाई दिनुपर्ने मुआब्जा दिन समस्या नरहेको आयोजना प्रमुखले नै बताएपछि बि.पी राजमार्ग दुई लेनको बन्ने लगभग पक्का जस्तै देखिन्छ । त्यसमाथी अहिले सरकारले बीपी राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राखेको छ । सरकारले बीपी राजमार्गको विस्तार गर्न डीपीआर र निर्माणको काम अगाडि बढाउनको लागि भनेर यस वर्ष २० करोड रुपियाँ विनियोजन गरेको छ । आयोजना प्रमुख भाटका अनुसार यस वर्ष माम्ती खोला, कालोढुंगा, भ्याकुरे खोलामा दुई लेनको पुल निर्माणको काम अगाडि बढाउनको लागि भनेर डिजाइनको काम पनि भइरहेको छ। हिजोआज मुग्लिनमा जाम हुँदा बीपी राजमार्ग हुँदै सवारी साधन सञ्चालन हुने गरेका छन । तर साँघुरो सडकमा माथी बाट पहिरो खस्दा धेरै समय सडक अवरुद्ध हुन्छ । कहिलेकाही ट्राफिक जाम धेरै बेर हुँदा यात्रुले सास्ती बेहोर्नु पर्छ । जिल्ला स्थित ट्राफिक प्रहरीका अनुसार बीपी राजमार्गमा अहिले साना ठूला गरी दैनिक ४ हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन । यो राजमार्गलाई ४ खण्डमा विभाजन गरी जापान सरकारले २०५२ सालदेखि निर्माण थालेर २०७१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । बि.पी राजमार्ग जापान सरकारको सहयोगमा २२ अर्ब रुपियाँ लगानीमा निर्माण सम्पन्न भएको हो ।