कमलामाइ -६ रातमाटाकी सुप्रीया थापाले बाटोमा बेच्न राखिएका भुइकटर देखाउदै भनिन-“हेर आह ! रसिलो फल !” टक्क गाडी रोकेर उनी हतार हतार झरिन र सोध्न थालिन-“कति पर्छ यसको ? कमलामाइ -८ स्थित करकरे एरियामा भुइँकटर बेच्न बसेका ब्यापारीले भने-” एउटाको ६० रुपैया पर्छ, धेरै लाने भए अलि छुट गर्न सकिन्छ ।” उनले ४ वटा लाने भनेपछि ती ब्यापारीले पचासका दरले दिनुस न भने । सिन्धुलीमाढिमा झन्डै डबल मुल्य पर्ने यस्ता काउलीकटर अन्यत्र झन महङ्गो पर्ने बताइन्छ । तर अहिले सिन्धुलीको कमलामाइ स्थित करकरे, सिस्नेरी र बागमारा एरियामा यस्ता रसिला फल बग्रेल्ती बेच्न राखेको देखिन्छ । बि.पि. राजमार्गमा पर्ने उक्त एरियामा बेच्न राखिएका यस्ता फल सो सडक भएर यात्रा गर्नेलाई कोशेली लाने दरिलो उपहार बन्ने गरेको छ । स्थानीय भुवन थापा भन्छन-” काठमाडौंमा गोटाको एक सय रुपैया पर्छ, उनले भने-“सिजनको फल त्यो पनि आधा मुल्य सस्तोमा ! नलाने कुरै भएन ।” काठमाडौं बेस भएर अनलाईनमा अर्गानिक ताझा तरकारी र फलफूल ब्याबसाय गर्ने सौरभ ढकाल उनको “ग्रीन ग्रोथ” अनलाइनले पनि भुइँकटर बेच्ने गरेको बताउछन । विशेष गरेर अर्गानिक फलफूल र तरकारीको डिमान्ड उनकोमा राम्रो रहेको बताउदै, ढकालले भने-“यता भुइँकटर एउटाको सय पर्छ।” उता स्वास्थ क्षेत्रका डाक्टरहरु पनि भुइँकटर गुनकारी फल भएको बताउछन । उनीहरुका अनुसार , यो फल स-साना बालबालिका, युवा ,अधबैंसे देखि बृद्धअबस्थाका सबैले उपयोग गर्न मिल्छ । यतिबेला सिन्धुलीमा भुइँकटर सिजनको फल हो । अस्ति असार पहिलो साताबाट बिक्री गर्दै आएको बताउने करकरेका एक ब्यापारीले भने-“पर्सि साउन पन्ध्र पछि यो फल खोजे पनि यहाँ पाइदैन ।” बि.पी राजमार्गमा बर्खापछि ठाँउठाँउमा पहिरो गएर यात्रा उदेकलाग्दो हुने गरेको यात्रुहरु बताउछन । तर यतिबेला यहीँ मार्गको बाटोघाटोमा बिक्री गर्न राखिएका भुइँकटरले भने रौनकता थपेको देखिन्छ । ब्यापारीहरु सस्तोमा भुइँकटर बेचेर पनि दिनमा दश हजार सम्मको आम्दानी हुने गरेको बताउछन । जङ्गल नजिकै पर्ने यहाँका बस्तीमा जताततै भुइँकटर देखिन्छ अहिले । सिन्धुलीमा अहिले भुइँकटरको जुस एक गिलासको ६० रुपैया पर्छ । त्यो पनि शुद्ध कहाँबाट पाउनु ! तर उता सिस्नेरीमा भने उक्त रकममा सिङ्गो काउलीकटर नै आउँछ । अहिले सिजन भुइँकटरको, बि.पि. राजमार्गमा चहल-पहल पनि यसैको !

बि.पि. राजमार्गमा भुइँकटर बेच्दै ब्यापारी