राधिका बुढाथोकी, सिन्धुली : सिन्धुलीमा सवारी दुर्घटनामा परि एकै बर्षमा ४६ जनाको ज्यान गएको छ । ट्राफिक प्रहरी सिन्धुलीको रिपोर्टमा अघिल्लो बर्षमा मात्रै सिन्धुलीमा ६८ वटा सवारी दुर्घटना हुँदा यति धेरै मानिसहरुको मृत्यु भएको हो । आर्थिक बर्ष २०७५/०७६ मा ३३ जना पुरुष,९ जना महिला, ३ जना बालक र १ जना बालिका गरि कुल ४६ जनाको ज्यान गएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख विष्णु बस्नेतले जानकारी दिनुभयो । ट्राफिक प्रहरी सिन्धुली प्रमुख बस्नेतका अनुसार गए बर्ष सिन्धुलीमा सडक दुर्घटनाहरुमा परेर ५३ जना पुरुष गम्भिर घाईते भए । यस्तै बस्नेतका अनुसार अघिल्लो बर्षको दुर्घटना परेर १८ महिला पनि गम्भीर घाइते भए । बस्नेतका अनुसार गए बर्षको सडक दुर्घटनामा परेर सिन्धुलीमा ४ बालक र चारै जना बालिका पनि गम्भीर घाइते भए । सिन्धुलीमा सबैभन्दा बढी सवारी दुर्घटना विपी राजमार्गमा हुने गरेको ट्राफिकका प्रमुख बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पहिलेको तुलनामा अहिले विपी राजमार्गमा सवारी चाप बढ्दै गएको छ । केहि दिनअघि सम्म विपी राजमार्गमा ३ हजार ३५ सवारी साधन दैनिक आवात जावत हुने गरेकोमा अहिले दैनिक ५ हजार सवारी आवात जावत हुने गरेको छ । यसैबीच ट्राफिक प्रहरी सिन्धुलीले साउन १ गते देखि ३ महिनाको लागि सिन्धुलीमा सवारी दुर्घटना न्युनिकरणका लागी जनचेतनाको कार्यक्रम गर्ने जानकारी दिएको छ । जसमा ट्राफिकको नियमित कार्यक्रमहरुलाई निरन्तरता दिदैँ आज मध्याह्न १२ बजे देखि साँझ ५ बजे सम्म मोटरसाईकलमा गति सिमित स्टिकर टाँस गर्ने र ट्राफिक नियम सम्बन्धि जानकारीमुलक पर्चा वितरण गर्ने कार्यक्रम ट्राफिक सिन्धुलीले राखेको बुझिएको छ ।