केहिदिन यता सिन्धुलीमा निरन्तर चोरीका खबर सार्बजनिक हुन थालेका छन । स्थानीयका अनुसार हिजोआज सिन्धुलीमा चोरीको घटना बढेको छ । हेर्दा सामान्य घटना जस्तो लाग्ने तर पटकपटक धेरै पटक चोरीको घटना भएको स्थानीय सुनाउछन । गएराती सिन्धुलीको कमलामाइ-६ स्थित खरखरे घुम्तीनेर एउटा चामल पसलमा चोरी भएको छ । पसलबाट ७ लाख रुपैया चोरी भएको उक्त पसलका चामल ब्यापारीले बताए । सिन्धुलीमा चोरीको सिलसिला जारी रहँदा स्थानीयहरु अहिले त्रसित भएका छ्न । स्थानीयहरु भन्छन-“पूर्णरुपमा सुरक्षित महसुस गर्न पाएका छैनौ ।” सिन्धुलीमा अघिल्ला बर्षहरुमा छिटपुट हुने गरेको भएपनि यो वर्ष चोरी र लुटपाटका घटनामा वृद्धि भएको स्थानीयहरु आफ्नो अनुभव सुनाउछन । सिन्धुलीको कमलामाइ नगरमा हिजोआज चोरहरुको बिगबिगि नै देखिन्छ । तर स्थानीय सजग भएको ठाँउमा भने चोरहरु चोर्ने काममा असफल भएका घटना पनि समाजमा सुन्न पाइन्छ । केहिदिन पहिला बिहान १ बजे आसपास कमलामाइ ६ को पुरानो जनतामार्गमा रहेको सन्तोष थापाको घरमा चोरको चोर्ने प्रयास असफल भएको छ । चोरले झ्याल बाट हात छिराउने बित्तिकै थापाकि श्रीमति बेजोड चिच्याउनु भयो । बुहारी चिच्याएको थाहा पाएपछि सासुआमा पनि सङ्गसङ्गै कराएर साथ दिनुभयो । वरपरका छिमेकी पनि के भयो भन्दै एकैछिनमा त्यहाँ पुगे । सासुबुहारी चिच्याएपछि चोर्न आएको चोर छिनभरमै भागेको पीडित परिबारले बताए । बि.पि. राजमार्ग नजिकै पर्ने रातमाटामा रहेको सन्तोष थापाको घरमा यसरी मध्य राती चोर्न चोर आएको यो बर्षमा यो तेस्रो घटना थियो । कम्पाउन्ड भएको थापाको घरमा चोर पर्खाल भित्र छिरेर चोर्ने प्रयास गरेको यो प्रतिनिधि घटना मात्रै हो । झन्डै एक महिना अघि सबेरै करिब एक बजे बिहान तिर कमलामाइ नगरपालीका भित्रकै ढुंग्रेबासमा पर्ने अनमोल होटेल सामुन्ने रहेको एउटा किराना पसलमा लुटपाटको घटना भएको थियो । उक्त घटनामा झन्डै दुई लाख चालीस हजार जति लूटपाट भएको उक्त पसलका पीडितले प्रहरीलाई गुनासो टिपाएका थिए । स्थानीयका अनुसार उक्त पसलमा रहेको शिसी टिभि क्यामेरामा लुटपाट गर्ने ब्यक्तिहरु देखिएकाले प्रहरीले पक्राउ गर्न सक्ने आशा स्थानीय सुनाएका थिए । तर त्यसको केहि दिन पछि कमलामाइ ६ स्थित गोकर्ण थापाको घर छेउमा झन्डै पाँच वटा पर्स फ्याकिएको भेटियो । थापाको नयाँ पक्की घर चढन चोरले एउटा सुकेको बासको साहारा लिएको थियो । घटनामा घरका महत्त्वपूर्ण सामान भने सकुशल थियो । तर हतारमा चोरले थोरै पैसा भएको पर्स भने हात पार्न सफल भएको थियो । उक्त घटना पछि गोकर्ण थापाले प्रतिक्रिया दिदै भनेका थिए -“टोलका स्थानीयले अनुरोध गरेर प्रहरीलाई गस्तीका लागि अनुरोध गर्नुपर्ने देखियो ।” थापाको घरमा घटना भएको केहि दिन अघि कमलामाइ-६ कै माझीपधेरा जाने सोही टोलमा भरत केसीको घरबाट गहना चोरीको घटना भएको प्रहरीले जनाएको थियो । गोकर्ण थापाको घरमा चोरीको प्रयास भएकै समयमा उता कमलामाइ ६ कै अधेरीमा चोरको सक्रियता बढेको भन्दै स्थानीयहरु छलफल गरेर चोर नियन्त्रण गर्न उपाए खोज्ने प्रयास गर्दै थिए । उक्त एरियामा कमलामाइ नगर वडा नम्बर ६ का वडा सदस्य घनश्याम देबकोटाको पनि घर छ । देबकोटाले भने-“देख्दा सामान्य लाग्ने तर चोरले चप्पल देखि कपडा सम्म बाकी नराखेको गाउँलेको गुनासो सुनिन्छ ।” केहि समय अघि सम्म शान्त र सुरक्षित मानिएको कमलामाइ ६ मा एकाएक चोरको सक्रियता बढन थालेपछि स्थानीयहरु अहिले शशन्कित बन्न पुगेको देबकोटाले बताए । हुन त प्रहरीले टोललाई शान्त र सुरक्षित बनाउन समुदाय प्रहरी साझेदारीमा विभिन्न अभियानहरु सञ्चालन गरेको भएपनि पहिलेको तुलनामा अहिले चोरीका घटनामा वृद्धि भएको स्थानीय सुनाउछन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा समेत चोरी सम्बन्धी उजुरीहरु यसपाली बढेको बताइन्छ । संख्यात्मक रुपमा चोरीका घटना वृद्धि हुदै गएको स्थानीयको गुनासोले टोल छरछिमेकमा अझै सजगता अपनाउनु पर्ने देखिन्छ ।सिन्धुली प्रहरीले पनि आर्थिक अपराध र लुटपाटजस्ता घटनामा वृद्धि भएकाले सजग रहन स्थानीयलाई आग्रह गरेको छ । हिजोआज ठूला सुन चोरीका घटना देखि साना कपडा चोरीका घटना समेत सिन्धुलीमा धेरै भएको स्थानीयको भनाइ छ । सिन्धुलीमा चोरीको घटना बढेसँगै घटनामा संलग्न आरोपितहरु पनि पक्राउ परेका खबरहरु आएका छन । तर चोरीको घटना भने घटनुको सटटा बढेको देखिन्छ । सबै सजग बनौं ।