भाडामा बस्दै आएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुलीले अन्तत आफ्नै पार्टी कार्यालय बनाउने भएको छ । सो पार्टीको सम्पर्क कार्यालय अब कमलामाइ ६ स्थित भगवती स्कुल अगाडि बन्ने तय भएको छ । १२ धुर जग्गामा पार्टी कार्यालय बनाउने योजना बनाएको माओवादी केन्द्र सिन्धुलीले सदरमुकाम भित्रैको महँगो रेटमा चलेको जग्गा किनेको छ । माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले उक्त जग्गा किन्न आज पाँच लाख रुपैया चेक जग्गा धनीलाई टोकन बैना समेत गरिसकेका छन । प्रति धुर ५ लाख ९५ हजार बढी मुल्य पर्ने उक्त जग्गाको कुल रकम ७१ लाख ५० हजार पर्छ । केहि दिन पहिला सामाजिक संजाल मार्फत माओवादी केन्द्र सिन्धुलीका जिल्ला अध्यक्ष दाहालले आफ्नै पार्टीका कार्यकर्ताको सहयोगमा पार्टी कार्यालय निर्माण गर्ने जानकारी दिएका थिए । त्यसयता जिल्ला भित्र र बाहिर बाट सहयोग गर्ने जमात अहिले ओइरिएका छन । दाहालका अनुसार बिदेशमा रहेका नेपालीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । आज टोकन बैना गरिएको उक्त जग्गा भदौ १ गते पास गर्ने दाहालले बताए । सर्बोच्चले नेकपा बाट एमाले र माओवादी अलग नगर्दा सम्म दुबै पार्टीको संयुक्त पार्टी कार्यालय आजाद स्मृति भवन दुई नम्बर बजारमा रहेको थियो । अहिले माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय २ नम्बर बजारमा भाडामा बस्दै आएको छ। पार्टीसँग आस्था राख्ने व्यक्ति र कार्यकर्ताको सहयोगमा पार्टी कार्यलय बन्न लागेको अध्यक्ष दाहाल बताउछन । करिब १ वर्षको अवधिमा १ करोड लगानीमा भवन निर्माण हुने दाहालले नागरिक खबरलाई बताए । दाहालले गत बिहीबार पार्टी कार्यलय भवन निर्माण गर्ने घोषणा गर्दै आफ्नो पार्टीलाई विश्वास गर्ने सम्पुर्ण कार्यकर्ताहरुलाई सहयोगका लागि आह्वान पनि गरेका थिए । सोही दिन आफैले २ लाख १ हजार १ सय ५१ रुपैया सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन । माओवादी पार्टी कार्यालय बनाउन तीन दिनमा २५ लाख बढी नगद सहयोगको प्रतिबद्धता जुटिसकेको छ । देश तथा विदेशमा रहेका पार्टीप्रति विश्वास आस्था राख्ने धेरै व्यक्तिहरुले सहयोग गरिरहेको उक्त पार्टीले जनाएको छ । सिन्धुलीमा एमाले र काङ्ग्रेस पार्टीको आफ्नै भवन छ । अरु पार्टी भाडामा बसिरहेका छन ।