काठमाडौं । काठमाडौं उपत्यकामा होटल तथा रेष्टुरेन्टहरु बन्द हुँदा सडक कुकुरको बिजोग भएका छन् । ती कुकुरहरु भोकभोकै भौतारिन बाध्य छन् ।

युगौ युगदेखि कुकुर मान्छेहरुको बफादार साथी हो । जहाँ मान्छे त्यहाँ हुन्छ कुकुर । प्रायः मान्छे भएको सबैजसो ठाउँमा कुकुर हुन्छन । मान्छेको भान्साबाट उप्रको स–साना कुरा खान पाए पनि दङ्ग पर्छन कुकुरहरु ।

मान्छेले जे दिन्छन त्यही खान्छ्न यिनीहरु । उनीहरुको मान्छेमा जस्तो लोभीपापी स्वभाव हुन्न । पशु वर्गमा पर्ने भएपनि विवेकशील मानिसहरुको शान्ति सुरक्षामा सधै सक्रिय र चनाखो हुन्छन कुकुरहरु । समाजका धनीमनीले त हिजोआज छोराछोरीलाई झैं माया गरेर घरभित्रै कुकुर पाल्ने चलन पनि बढ्दो छ ।

अहिले कोरोना महाब्याधीका कारण मानिसहरु त्रासमा छन । आफ्नो ज्यान कसरी जोगाउने भन्ने चिन्ताले मानिसहरुलाई असाध्यै पिरोलेको छ । तर मानिसहरुको सुरक्षामा रातदिन भुकेर सुरक्षाको भूमिका निभाउने कुकुरहरु हिजोआज टोल–टोलमा भोकभोकै छन ।

निषेधाज्ञाका कारण होटेल, रेस्टुरेन्टहरु बन्द हुँदा प्रायः सडकमा रहेका कुकुरहरुको अहिले बिचल्ली देखिन्छ । घर वरिपरि देखिएका कुकुरलाई घर परिबारले खाना खान दिएर सहयोग गर्नुपर्ने हो । तर मानिसहरु स्वार्थी छन । आफु मात्रै खान्छ्न । कुकुरलाई दिँदैनन । तर यहीँ समाजमा केही मानिसहरु हिजोआज कुकुरलाई खुवाउदा धर्म मिल्ने भन्दै सहयोग गर्न लागि परेका छन् ।

काठमाडौं तीनकुनेका सन्तोष थापा यस्तै एक पात्र हुन्, जसले नियमित रूपमा कुकुरलाई खाना खान दिएको आज एक महिना पुगेको छ । सामाजिक सञ्जालमा सन्तोषले लेखेका छन, ‘कुखुराको टाउको खुटा किन्ने घरमा ल्याउने र बोइल गर्ने, कहिले बिस्कुटसँग कहिले खानासँग दिने गरेको छु ।’

उनले अघिल्लो वर्षको लकडाउनमा पनि यसैगरी कुकुरलाई खाना खुवाएका थिए ।

अघिल्लो वर्ष २५ हजार आफ्नो खर्च भएको उनले बताए । अहिले कति खर्च हुन्छ भन्ने प्रश्नमा सन्तोषले भने, ‘हप्तामा दुइपल्ट मासु दिँदा अलि बढी खर्च आउँछ तर अरु नर्मल खानामा त त्यही दिनको दुई अढाइ सयले पुग्ने गर्छ ।’

उनले दोस्रो भेरियन्टको कोरोना देखिएपछि आफ्नो टोलमा कुकुरलाई खाना खुलाउने अभियान थालेको नै आज एक महिना पूरा भएको छ ।

थापाले नागरिकखबरलाई भने, ‘यो लकडाउन अवधिभर सकेसम्म यस कार्यलाई निरन्तरता दिने कोशिसमा छु ।’