सिन्धुलीमा बिश्व पर्यटन दिबशको अबसरमा साइकल यात्रा गरिएको छ । रोटर्याक्ट क्लब सिन्धुली गढिले पहिलोपटक जिल्लामा आयोजना गरेको साइकल यात्रामा ४ दर्जन बढी स्थानीयको युवा पुस्ताको सहभागिता थियो । साइकल यात्रालाई सुभारम्भ गर्दै कमलामाइ नगरका मेयर खडग खत्रीले नगर भित्र साइकल लेन बनाउने प्रतिबद्धता जाहेर गरे । मेयर खत्रीको प्रस्तावलाई समर्थन गर्दै नगर भित्रका विभिन्न वडाका ४ जना वडाअध्यक्षले पनि साइकल लेनका लागि सकेको सहयोग गर्ने बचन दिएका छन । उनीहरुले साइकल यात्रीलाई न्यानो स्वागत गरेका थिए । झन्डै १२ किलोमीटरको साइकल यात्रामा सहभागी भएका कमलामाइ ६ का वडाअध्यक्ष उज्ज्वल थापाले त धेरै जसो समय अब साइकलमै हिड्ने प्रण गरेका छन । सोही साइकल यात्रामा सहभागी भएका समृध सिन्धुली अभियानका अभियन्ता तथा आजको साइकल र्यालीका सहभागी सौरभ ढकाल सङ्ग साइकलको महत्त्व बारे हामीले कुराकानी गर्न भ्याएका छौ । उनले साइकल बारे बताएका कुराको मुख्य अंस यस्तो छ । कोरोना महामारीपछि विश्वभरि साइकलको महत्व र प्रयोग बढेको छ। सार्वजनिक बस र मेट्रोमा सामाजिक दुरीको कार्यान्वयन भरपर्दो नभएकाले साइकल प्रयोग र पैदलयात्रा प्रोत्साहन गर्ने बृहत् तयारी भइरहेका छन्। हामी भने साइकल र पैदल यात्राका लागि यति सुन्दर सहर हुँदाहुँदै त्यसतर्फ उदासीन छौं । कोरोना महामारीको यो समय सहरलाई प्रदूषणमुक्त राख्न मात्र होइन, भाइरस फैलिनबाट रोक्न पनि साइकल र पैदलयात्रा प्रवर्द्धन नगरी सुख छैन।
फ्रान्सको पेरिसमा मेयर एना हिडाल्गो आएलगत्तै ७५० किलोमिटर साइकल लेन सुरू गरेकी थिइन । त्यहाँ मार्च ११ देखि लकडाउन खुल्नुअघि नै दुई करोड युरोको योजना ल्याउँदै साइकल लेन र स्ट्यान्डहरू निर्माण गरिएको छ। साइकल मर्मत गर्न पेरिसबासीहरूलाई ५० युरोको खर्च दिइएको छ। साइकल प्रशिक्षणमा पनि खर्च बेहोरिएको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको समय साइकलका लागि ‘स्वर्ण युग’ भएको घोषणा गर्दै साढे दुई अर्ब पाउन्डको योजना ल्याए । बेलायतको राजधानी लन्डनका मेयरले सहरलाई साइकलमैत्री बनाउन कतिपय क्षेत्रमा कार र गाडीहरूको प्रवेश निषेध गराए । साइकललेन र फुटपाथ चौडा पारियो । युरोपका रोम, बर्लिन, एथेन्स, बार्सिलोना, म्याड्रिड, म्यानचेस्टर, लनशायर, क्याम्ब्रिज, ग्लास्गो, जुरिक, लिस्बन, डब्लिन, कोपनहेगन, सम्पूर्ण डच सहर, स्टकहोम, ओस्लो लगायत र अमेरिकी सहरहरूले पनि लकडाउनपछि साइकल र पैदल यात्रा प्रोत्साहित गर्ने योजना घोषणा गरेका छन । त्यसैअनुरूप पूर्वाधार विकास भइरहेका छन।
सिन्धुलीकाे कमलामाइ नगर बजार क्षेत्रमा पनि लकडाउन लगतै दैनिक साइकल चलाउनेहरु बढेका छन । यसलाइ नगरले बिशेष चासाे र अवशरकाे रुपमा लिनुपर्छ । सडक पुर्वाधारहरुकाे प्रयाप्त बिकास भइनसकेकाे बेला शहर निर्माणमा साइकल र पैदल यात्रु मैत्रि संरचनाहरुकाे बिकास गर्न सकिन्छ । यहि माैकामा नागरिकहरुकाे साेच पनि परिवर्तन गर्न सकिन्छ । समाज अहिले कार केन्द्रित भएको छ । जोसँग कार छ त्यो मात्र सभ्य र सम्पन्न मानिस हो भन्ने सोच विकास भएको छ । साइकललाई वर्गीय नजरले हेर्ने भएकोले यस्तो सोचेका हुन । सबैभन्दा ठूलो कुरा कस्तो मानिस कस्तो संस्कारमा हुर्केको छ त्यहीँ मनोविज्ञान निर्माण हुने भएकोले यस्तो सोचेका हुन । साइकललाई हेयको दृष्टिकोण राख्नु भनेको साइकल चढ्ने मानिस कमजोर होइन त्यस्तो सोच राख्ने मानिसको सोचविचार नै कमजोर हो भनेर बुझ्दा हुन्छ। अब यो सोच निरन्तर गयो भने समाज र मानिसलाई भयानक असर गर्नेछ ।