सिन्धुलीका दुई जना शिक्षकलाई कोरोना देखिएको छ । महोत्तरीको गौसला पढाउने सिन्धुली घर भएका एकजना शिक्षकलाई कोरोना पोजिटिभ देखिएको छ । महोत्तरीको बर्दिबास स्थित गौरिडाडाको क्वारेन्टाइनमा बसेका उक्त शिक्षकले मङलबार २० गते क्वारेन्टाइनमा स्वाब दिएर २१ गते बुधबार सिन्धुली घर आएका थिए । स्रोतका अनुसार उनको घर गोलन्जोर ५ स्थित बिजयछापमा पर्छ । उनी गएको बुधबार,बिहिबार,शुक्रबार र शनिबार गरी ४ दिन घर बसेर आइतबार बर्दिबास पुगेका थिए । रिपोर्ट हेर्दा कोरोना पोजेटिभ आएको पाएपछि उनको सम्पर्कमा आएका श्रीमती सहित परिवार अन्य १० जनाको स्वाब पनि गोलन्जोर गाउपालिकाले परिक्षणका लागि धुलिखेल पठाएको थियो । सबैको रिपोर्ट भने नेगेटिभ आयो । कोरोना संक्रमण देखिएका उक्त शिक्षल गाउँका अर्का एक शिक्षकको जन्मदिन पार्टीमा पनि सहभागी भएको खुलेपछि उक्त पार्टीमा सहभागी अन्य १५ जनाको पनि गोलन्जोर गाउपालिकाले स्वाब संकलन गरेर परिक्षणको लागि धुलिखेल पठाएको छ । गाउँपालिका स्रोतका अनुसार स्वाबको रिपोर्ट भने यो खबर तयार पार्दा सम्म आउन बाकी छ । सिन्धुलीको सुनकोसी गाउँपालिकामा पनि आज एक शिक्षक कोरोना पोजिटिभ देखिए पछि सिन्धुली अस्पतालको आइसोलेसनमा ल्याएर उपचार थालिएको छ । यो सङ्गै सिन्धुलीका दुई शिक्षकमा कोरोना देखिएको हो । यसैबीच गोलन्जर गाउँपालिकाले आज राती १२ बजे पछि लागु हुने गरेर अत्यावश्यक स्वास्थका कार्य बाहेक अन्य सेवा हाललाई स्थगित गरेको जनाएको छ । सूचना मार्फत गाउँपालिकाले यस्तो जानकारी दिएको हो । गाउँपालिकाले आफ्नो एरियामा खुल्ने तरकारी फलफूल लगायत अन्य पसलहरु बिहान ६ बजे बिहान देखि ९ बजे बिहान सम्म तीन घन्टा र बेलुका ४ बजे देखि ६ बजे बेलुका सम्म दुई घन्टा मात्रै संचालन गर्न अनुरोध गरेको छ ।